काठमाडौँ । नेपालका प्रभावशाली ओपनर कुशल भुर्तेलले हङकङमा जारी चार देशीय टी–२० शृंखलामा नयाँ रेकर्ड बनाउन सफल भएका छन् । बिहीबार कुवेतविरुद्धको प्रतियोगिताको तेस्रो खेलमा भुर्तेल अर्धशतक बनाउँदै सो रेकर्ड बनाएका हुन् ।
ईएसपीएन क्रिकइन्फोको तथ्यांक अनुसार उनले दीपेन्द्र सिंह ऐरीलाई उछिन्दै टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी बनेका हुन् । ५५ खेलमा भुर्तेलले ११ वटा अर्धशतक बनाएका छन् । उनको नाममा एउटा शतक पनि रहेको छ । उनले १०४ रन बनाएका थिए, जुन उनको उच्च स्कोर पनि हो ।
यता, दीपेन्द्रले ७६ खेलमा १० अर्धशतक बनाएका छन् । तेस्रो स्थानमा कप्तान रोहितकुमार पौडेल रहेका छन् । उनले ६१ खेलबाट ७ अर्धशतक बनाएका छन् भने आसिफ शेखले ५६ खेलबाट ६ वटा अर्धशतक हिर्काएका छन् ।
प्रकाशित मिति : २०८१ चैत्र २७ गते बिहिवार

