२०८२ चैत्र २८ गते शनिवार | 2026 April 11th Saturday

१२ को परीक्षा शिक्षकबिना गर्ने तयारी, महासंघले भन्यो : हेरौं कसरी हुँदो रहेछ

काठमाडौँ । शिक्षकहरूको आन्दोलन जारी रहेका बीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। अब परीक्षा ११ वैशाख बिहीबारदेखि हुने छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्थानीय तह, शिक्षा इकाइ र अन्य संयन्त्रमार्फत केन्द्राध्यक्ष खटाएर परीक्षा सञ्चालन गरिने छ। उनले भने, ‘पालिकाका कर्मचारी, क्याम्पस र निजी विद्यालयका शिक्षक प्रयोग हुनेछ।’

तर, नेपाल शिक्षक महासंघले यसमा कडा आपत्ति जनाएको छ। सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षकलाई बाइपास गरेर परीक्षा गरिनु अपमानजनक भएको बताउँदै भनिन्, ‘हेरौं कसरी हुँदो रहेछ जबर्जस्ती परीक्षा।’

महासंघले उत्तरपुस्तिका परीक्षणमा पनि असहयोग गर्ने चेतावनी दिएको छ। महासचिव तुलाबहादुर थापाका अनुसार तालिम तथा तयारी कार्यहरू बहिष्कार गरिएको छ। आन्दोलन भने यथावत् रहेको छ।

यसपटक परीक्षामा ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदैछन्। तर, अभिभावक र विद्यार्थीमा अझै अन्योल छ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस