६ बैशाख, काठमाण्डौँ । सन् २०२६ को आइसिसी यू-१९ विश्वकप क्रिकेट खेल्न नेपाल एक खेलले टाढा छ । आज काठमाडौंको मुलपानी मैदानमा अफगानिस्तानसँग नेपाली युवा टोलीले निर्णायक भिडन्त गर्दैछ । यो एक खेल जिते नेपालले २०२६ मा आईसीसी विश्वकप क्रिकेट खेल्नेछ ।
नेपाल र अफगानिस्तानले तीन खेलबाट समान ६ अंक बनाएका छन् । यी दुई टोलीको भिडन्तको विजेताले अर्को वर्ष जिम्बावे र नामिबियाले आयोजना गर्ने विश्वकपमा स्थान बनाउने छन् । मूलपानीको तल्लो क्रिकेट मैदानमा भइरहेको छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा नेपाल र अफगानिस्तान पुगेका हुन्। प्रतियोगितामा सहभागी हङकङ, ओमान र युएई अंकविहीन छन् ।
लगातार तीन खेलमा विजयी भएका दुवै देश उच्च मनोबलका साथ निर्णायक भिडन्तका लागि शनिबार मैदानमा हुनेछन् । निर्णायक भिडन्तमा आइपुगेको अफगानिस्तानले पहिलो खेलमा ओमान र दोस्रो खेलमा हङकङलाई समान आठआठ विकेटले हराउँदा तेस्रो खेलमा यूएईविरुद्ध डिएलपद्धतिमा १८० रनको जित निकालेको छ।

