२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

१५ बैशाख , काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति निकालेर विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अहिले लोडसेडिङ नभएको र आउँदा दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको हो ।

सामाजिक सञ्जालमा फैलिएका हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकाको समयमा खपत कम गरेर सहयोग गर्न अनुरोधसमेत गरेको छ । प्राधिकरणका अनुसार अहिले देशभर विद्युतको जडित क्षमता तीन हजार पाँच सय १२ मेगावाट रहेको छ । यसमध्ये प्राधिकरणको स्वामित्वमा रहेका जलविद्युत् आयोजना छ सय ६२ मेगावाट, सौर्य २५ मेगावाट, सहायक कम्पनीका आयोजना छ सय २३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित दुई हजार एक सय ४९ मेगावाट रहेको छ ।

अहिले आन्तरिक उत्पादन औसतमा एक हजार एक सय ७५ मेगावाट रहेकामा विद्युत्को उच्च माग पिक लोड दुई हजार ७७ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । जसमध्ये एक हजार पाँच सय ९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको छ । प्राधिकरणले गर्मीयाम शुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई चौबिसै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको दाबी गरेको छ ।

 

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस