काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्कालका लागि दक्षिण कोरिया जाने नेपाली विद्यार्थीहरूको एनओसी जारी गर्न रोक लगाएको छ। नेपाली विद्यार्थीहरू कोरियामा अध्ययन गर्दा विभिन्न समस्यामा परेको व्यापक गुनासो आएपछि सरकारको निर्णय आएको हो।
परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली दूतावाससँग विद्यार्थीहरूको अवस्थाबारे जानकारी माग गरेपछि, दूतावासले डी–२ तथा डी–४ भिसासम्बन्धी विवरण प्रस्तुत गर्यो। कोरियामा अध्ययनका लागि जाने विद्यार्थीहरू काममा केन्द्रित हुने, अवैधानिक आश्वासन पाउने, तथा आर्थिक शोषणमा पर्ने गरेको दूतावासले जनाएको छ।
विशेष गरी कन्सल्टेन्सीहरूले विद्यार्थीलाई अवैधानिक रूपमा कोरियामा काम गर्न सकिन्छ भनेर भ्रामक जानकारी दिने गरेको तथा अत्यधिक शुल्क असुल्ने गरेको उजुरीहरू आएका छन्।
यी समस्या गम्भीर बन्दै गएपछि शिक्षा मन्त्रालयले अर्को सूचना जारी नहुँदासम्म एनओसी स्थगन गर्ने निर्णय गरेको हो।

