काठमाडौं । अमेरिका र चीनले एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउने सहमति गरेका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै देशले आगामी ९० दिनका लागि पारस्परिक कर ११५ प्रतिशतले घटाउने निर्णय गरेका हुन्।
स्विट्जरल्याण्डमा भन्सार शुल्कसम्बन्धी वार्ता भएको थियो। छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो। बेसेन्टले वार्तालाई उत्पादक र रचनात्मक भनेर वर्णन गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लगाएपछि दुई देशबीचको यो पहिलो बैठक हो। ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्म भन्सार शुल्क लगाएका थिए भने चीनले केही अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म कर लगाएको थियो।
भारी शुल्कले वित्तीय बजारमा उथलपुथल निम्त्याएपछि विश्वव्यापी मन्दीको डर बढेको थियो। अब चिनियाँ आयातमा अमेरिकी भन्सार कर ३० प्रतिशतमा घटाइनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार कर १० प्रतिशतमा घटाइनेछ।

