२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

प्रदेश सांसद गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत, आफैँ उपस्थित हुन निर्देशन

२ जेठ, बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले बेलायतबाट पठाएको राजीनामा अस्वीकृत भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य गुरुङले हस्तलिखित राजीनामा पत्र इमेलमार्फत प्रदेशसभामा पठाएकी थिइन् । उनी दुई महिनादेखि बेलायतमा बस्दै आएकी छन् । मंगलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दाबी गर्दै उनका श्रीमान कैलाश गुरुङले उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

प्रदेश सभा सचिवालयको इमेलमा गीता गुरुङकै नामबाट राजीनामा पत्र प्राप्त भए पनि प्रक्रिया नपुगेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । इमेलबाट प्राप्त पत्र शंकास्पद देखिएपछि थप विवरणसहित स्पष्ट जानकारी माग गर्दै पत्राचार गरिएको उनले जानकारी दिएका छन् ।

राजीनामाको प्रक्रिया नमिलेकै कारण सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य स्वयं उपस्थित भई हस्ताक्षरको सनाखत गराउन निर्देशन दिएका छन् । प्रदेश सभाबाट पठाइएको पत्रको जवाफ प्राप्त भएमा वा गुरुङ स्वयं उपस्थित भएपछि मात्रै थप प्रक्रियाअघि बढ्ने पुनले जानकारी दिए। जनमत पार्टीको समानुपातिकतर्फबाट निर्वाचित गुरुङ प्रदेश सभामा सबैभन्दा कम उपस्थिति जनाउने सदस्य हुन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस