२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

ओली सरकारले सुनेन कांग्रेस सांसदका कुरा, माओवादीसँगको गठबन्धनबारे बोल्यो पार्टी

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले ओली सरकार एकतर्फी रूपमा अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै असन्तुष्टि जनाएका छन्। शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले सरकारको कार्यशैलीप्रति गुनासो पोखेका हुन्।

बैठकमा गभर्नरसहित विभिन्न नियुक्ति बिना कारण अड्किएको र बजेट वितरण असमान भएको विषयमा पनि छलफल भएको थियो। सांसदहरूले बजेट क्षेत्रगत रूपमा समान रूपमा वितरण हुनुपर्ने सुझाव दिएका छन्।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गभर्नर नियुक्तिमा प्राविधिक कारणले ढिलाइ भएको बताए र एमालेले रोकिरहेको भन्ने आरोप असत्य भएको स्पष्ट पारे। उनले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना नरहेको र सरकार परिवर्तनको सोच कांग्रेसमा नभएको पनि बताए।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस सांसदहरूमा दुई ठूला दलको गठबन्धनमा कांग्रेसका कुरा पूर्ण रूपमा नसुन्ने चिन्ता रहेको जानकारी दिए। उनले कतिपय नियुक्तिमा ढिलाइ भइरहेकोमा सांसदहरूले चासो व्यक्त गरेको पनि बताए। प्रचण्ड र सभापतिबीचको कुराकानीलाई उनले सामान्य भेटघाट भएको बताए।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस