काठमाडौं । रसुवामा ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय, रसुवाले शनिबार उक्त सुन नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार सुनको परिमाण ठूलो छ र हाल जोख्ने काम जारी छ। रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले पनि सुन बरामद भएको पुष्टि गरेका छन्। तर, हालसम्म कति तौलको सुन बरामद भएको हो भन्नेबारे उनले जानकारी दिएका छैनन्।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हुने सुन तस्करीमाथि निगरानी बढेसँगै तस्करहरूले उत्तरी नाका प्रयोग गर्न थालेका छन्। विमानस्थलबाट सानो परिमाणमा सुन ल्याएर संकलन गर्ने र रसुवागढी नाका हुँदै किलोको दरमा सुन तस्करी गर्ने क्रम बढ्दो छ।
नेपाल हुँदै तस्करी गरिने अधिकांश सुन भारततर्फ पठाइने गरेको प्रहरीले बताएको छ। यस विषयमा विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार

