काठमाडौँ । पटक-पटक हेर्न नमिल्ने हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ।
आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा मुद्दा परेपछि पाँचौं पटक हेर्न नमिल्ने भएको थियो। त्यसपछि सोही इजलासले सर्वोच्च अदालत प्रशासनलाई हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश दिएको हो।
रिट लामिछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते दायर गरेकी थिइन्। यो रिटसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट सहकारी प्रकरणमा थप दुई रिट पनि दर्ता छन्।
यसअघि पनि गैरआवासीय नेपाली संघ (एनआरएन) विवादसम्बन्धी रिट हेर्न नमिल्ने भएपछि सर्वोच्चले त्यस्तै आदेश दिँदै हेर्न मिल्ने इजलासमा पठाउन भनेको थियो।
प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार

