२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

दक्षिण कोरियाबाट निष्कासित १९ जना नेपाली को हुन् ?

काठमाडौं । दक्षिण कोरियाले १९ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन र भिसा म्याद सकिएर लुकीछिपी बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले नेपाल फर्काएको हो।

निष्कासनमा पर्ने १९ मध्ये, चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू हुन्। सम्बाहम्बे, गौतम, गुरुङ र थापा थर भएका ती चार जनालाई गत मे १६ तारिखमा कोरियन एयरलाइन्समार्फत काठमाडौं ल्याइएको हो।

त्यस्तै, भिसा सकिएर गैरकानुनी रूपमा बसिरहेका ६ जनालाई मे १५ तारिखमा थाई एयरवेजमार्फत नेपाल फर्काइएको छ। उनीहरूको थर क्रमशः थापा, तिवारी, पुन, अधिकारी, पुन र घर्ती क्षेत्री रहेको बताइएको छ।

यसअघि, वैशाखको अन्तिम साता पनि ९ जना नेपालीलाई दक्षिण कोरियाले निष्कासन गरेको थियो। थापा, ठगुन्ना, आचार्य, राई, तुम्बाहम्पे, राई, तामाङ, मगर र मैनाली थर भएका ती व्यक्तिहरूलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा नेपाल फर्काइएको हो।

दक्षिण कोरिया नेपाली युवाहरूका लागि प्रमुख वैदेशिक रोजगारी गन्तव्य हो। कम लागत र आकर्षक तलब पाइने भएकाले इपीएसमार्फत लाखौं नेपाली हरेक वर्ष आवेदन दिन्छन्। तर, नियमन कडा भएकाले भिसा सकिएपछि लुकीछिपी बस्नेलाई तत्काल निष्कासन गर्ने नीति दक्षिण कोरियाले कडाइका साथ कार्यान्वयन गर्दै आएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस