काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले हिमाली क्षेत्रमा रहेका सबै तालहरू जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले हुम्लाको लिमीस्थित तिलागाउँमा जेठ १ गते हिमताल फुटेर गाउँ तहसनहस बनाएको घटनालाई उल्लेख गरे।
सांसद लामाका अनुसार ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा काठका पाँचवटा पुल बगाएका छन्। चार-पाँच सय रोपनी खेतमा सिंचाइ पुर्याउने कुलो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १५ किलोवाट क्षमताको विद्युत् परियोजना पनि पूर्ण रूपमा नष्ट भएको छ।
उनले भने, ‘हिमालपारिको गाउँ भनेर चिनिने तिलागाउँमा जनधनको क्षति भएको छ। १८ घरका ३२ जना-जसमा २१ महिला, ९ पुरुष र दुई बालक छन्। अहिले नजिकैको बारीमा त्रिपाल टाँगेर बसेका छन्। उनीहरू अप्ठ्यारो र त्रसित अवस्थामा छन्।’
सांसद लामाले ती नागरिकको तत्काल उद्धार र राहतको माग गर्दै सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

