काठमाडौं । गणतन्त्र दिवस मूल समारोह समितिको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ।
बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुखहरू, मुख्यसचिव, प्रधानसेनापति, विभिन्न मन्त्रालयका सचिव, विशिष्ट श्रेणीका अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अधिकारीहरूको सहभागिता रहनेछ।
सरकारले वि.सं. २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष ‘गणतन्त्र दिवस’का रूपमा मनाउँदै आएको छ।
यस वर्ष पनि संघीय सरकार, विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग, वाणिज्य दूतावास तथा प्रदेश, जिल्ला र स्थानीय तहहरूमा विविध कार्यक्रम गर्ने तयारी भइरहेको छ। आजको बैठकले ती कार्यक्रमको अन्तिम रूप दिनेछ।

