काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका अठारौं गभर्नर नियुक्त गर्ने तयारी गरेको छ। बैठकअघि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम गभर्नरका लागि सिफारिस गरेको थियो।
सिफारिस भएका नामहरूमा पहिलो नम्बरमा डा. विश्वनाथ पौडेल, दोस्रो नम्बरमा राष्ट्र बैंकका कामु गभर्नर निलम ढुंगाना, र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराई रहेका छन्। पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने ढुंगाना राष्ट्र बैंककै कामु गभर्नरका रूपमा कार्यरत छन्। भट्टराई पूर्व सचिव हुन्, जसले प्रधानमन्त्री कार्यालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालय लगायतमा सेवा गरेका थिए।
सत्ता साझेदार नेपाली कांग्रेस र एमालेबीच पौडेलको नाममा सहमति भइसकेको छ, जसले उनको गभर्नर नियुक्तिको सम्भावना बलियो बनाएको छ।

