काठमाडौं । भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा गृहमन्त्री रमेश लेखकले स्पष्टिकरण दिएका छन्। शनिबार जनकपुरको पिपडियामाईस्थानस्थित नेपाली कांग्रेस कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले आफू निर्दोष भएको दाबी गर्दै मन्त्रालयले आजै विज्ञप्ति जारी गर्ने जानकारी गराए।
लेखकका अनुसार केही दिनदेखि सामाजिक सञ्जालमा आफूलाई जोडेर लेखिएको विषयबारे अध्ययन गरिरहेको बताउँदै उनले भने, ‘मैले धेरै कुरा बुझिसकेको छु, आज काठमाडौँ पुगेर गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ, केही दिनमै म आफैं पनि बोल्छु।’
उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीतिबाट सन्यास लिने चेतावनीसमेत दिए। गृहमन्त्री लेखकले पार्टीको शिर नझुक्ने गरी आफूले इमानदारीपूर्वक राजनीति गरिरहेको पनि प्रष्ट पारे।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्दै अख्तियारले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ भने मन्त्रालयले १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। मन्त्रालयको यो कदमले थप शंका उत्पन्न गराएको भन्दै केही अधिकारीहरूले प्रश्न उठाएका छन्।

