काठमाडौं । भिजिट भिसा प्रकरणमा उठेका शंकाप्रति प्रतिक्रिया दिँदै गृह मन्त्रालयले आफू र नेतृत्वको कुनै गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा संलग्नता नरहेको स्पष्ट पारेको छ।
शनिबार गृह मन्त्रालयका सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
गृहमन्त्री रमेश लेखकको संलग्नतासम्बन्धी आशंका सार्वजनिक भइरहेका बेला मन्त्रालयले यस्तो विज्ञप्ति निकालेको हो। विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्व संलग्न छैन, न त भविष्यमा रहनेछ।’
गृह प्रशासनले शान्ति सुरक्षादेखि सुशासन कायम गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरेको उल्लेख गर्दै मन्त्रालयले अनियमितता र अपराधविरुद्ध नीतिगत तथा संस्थागत सुधारका काम गरिरहेको जनाएको छ।
भिजिट भिसा प्रकरणमा अख्तियारले अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ भने मन्त्रालयले शुक्रबार १४ जना कर्मचारीलाई हटाएको छ। तीमध्ये अधिकांश नायब सुब्बा छन्। अनुसन्धानकै क्रममा कर्मचारी हटाइनुले थप प्रश्न खडा भएको पनि बताइएको छ।

