२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

एउटैले दुई विषय पढाउन मिल्ने गरी शिक्षक तयार गर्ने तयारीमा सरकार

काठमाडौं । माध्यमिक तहमा देखिएको शिक्षक अभाव समाधान गर्न सरकारले एउटै शिक्षकले दुई विषय पढाउन सक्ने नीति ल्याउने तयारी गरेको छ। शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबीच यसबारे छलफल भइरहेको छ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, क्याम्पस तहमा विद्यार्थीलाई दुई विषय रोज्न पाउने व्यवस्था मिलाएर, शिक्षक सेवा आयोगबाट सोही अनुसार प्रतिस्पर्धा गर्न मिल्ने प्रणाली बनाइनेछ।

अहिले शिक्षकले स्नातक तहमा एक विषय मात्रै पढेर एउटै विषयको शिक्षक बन्ने पाउने व्यवस्था छ। अब भने नेपाली–अङ्ग्रेजी वा विज्ञान–गणित जस्ता दुई विषय पढेर दुबै पढाउन मिल्ने गरी नीति ल्याइने तयारी छ।

यसले गर्दा थोरै दरबन्दीमै विद्यालय सञ्चालन गर्न सजिलो हुने मन्त्रालयको भनाइ छ। मन्त्रालयले कानुनी संरचना निर्माण गर्ने र विश्वविद्यालय अनुदान आयोगले सहजीकरण गर्ने सहमति समेत जुटेको छ।

विज्ञान, गणित, अङ्ग्रेजी जस्ता विषयमा विशेष गरी शिक्षक अभाव देखिएको छ, जसका कारण दुर्गम जिल्लामा पटक–पटक सूचना निकाल्दा पनि शिक्षक पाउन गाह्रो भइरहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस