२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

तीनकुने प्रकरण : दुर्गा प्रसाईंमाथि राज्यविरुद्धकोसहित अनेकौं कसुरमा अभियोजन

काठमाडौं । चैत १५ मा काठमाडौँको तीनकुनेमा राजावादीको पक्षमा गरिएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध राज्यविरुद्धको अपराधदेखि हत्या प्रयाससम्मका गम्भीर मुद्दामा अभियोजन गरिएको छ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले दुर्गा प्रसाईंसहित ६५ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो। सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार प्रसाईंमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय माग गरिएको छ।

तीनकुनेमा भएको प्रदर्शनमा संलग्न ६५ जनालाई प्रतिवादी कायम गरिएको छ, जसमा ११ जना फरार छन्।

यस्तै, प्रदर्शनमा संलग्न ४ जना बालबालिकाविरुद्ध भने छुट्टै अभियोग दर्ता गरिने भएको छ। काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाका अनुसार उनीहरूविरुद्ध भक्तपुर बाल अदालतमा अभियोग पत्र दायर गरिनेछ।

यसमध्ये ६१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दर्ता भइसकेको छ। फरार रहेका ११ जनालाई भने छुट्टै प्रक्रिया अनुसार प्रस्तुत गरिनेछ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस