काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईं र राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले फरक–फरक बयान दिएका छन्। घटना सम्बन्धी काठमाडौं जिल्ला अदालतमा ६१ जना र बाल अदालत भक्तपुरमा ४ बालबालिकाविरुद्ध मुद्दा दायर गरिएको छ।
दुर्गा प्रसाईंको भनाइ
राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले भिडलाई आपराधिक कार्य गर्न उक्साउने सन्तोष सिलवाल र उनको समूह भएको दाबी गरेका छन्। पत्रकार सुरेश रजकको मृत्युमा संलग्न नरहेको र आफूले कसैलाई तोडफोड वा आगजनी गर्न निर्देशन नदिएको बयान दिएका छन्। आफू कार्यक्रम स्थलमा रहँदा कुनै हिंसा नभएको पनि बताएका छन्।
रवीन्द्र मिश्रको बचाउ
चार वटा गम्भीर कसुरमा मुद्दा खेपिरहेका मिश्रले भने संसद् भवन कब्जा गर्न कोहीलाई नखटाएको र हिंसा उक्साउने भिडिओ आफूसँग सम्बन्ध नभएको दाबी गरेका छन्। कार्यक्रममा सहभागीहरूमाथि अश्रुग्यास प्रहार भएपछि मात्र आवेगमा बोलेको स्वीकार गरे पनि आफूले कुनै हिंसात्मक गतिविधि नगरेको बताएका छन्।
प्रदर्शनका क्रममा पत्रकार रजकसहित दुई जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए। घटनापछि पक्राउ परेका मिश्र हाल थुनाबाहिर छन्।

