काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अन्ततः स्पष्टीकरण बुझाएका छन्।
अनुशासनहीन व्यवहार गरेको आरोप लागेपछि पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ ६ गते सात बुँदे स्पष्टीकरण सोधेका थिए। सोमबार उनले सो स्पष्टीकरण बुझाएका हुन्।
गुरागाईंका अनुसार पाण्डेको स्पष्टीकरण प्राप्त भए पनि अझै पूर्णरूपमा अध्ययन गर्न बाँकी छ। स्पष्टीकरणमा पाण्डेले कर्मचारी आचरण उल्लंघन, अनधिकृत रूपमा सञ्चार माध्यममा बोलेको, र जनप्रतिनिधिसँग अमर्यादित व्यवहार गरेको आरोपबारे जवाफ दिएका छन्।
सात दिनभित्र स्पष्टीकरण नआए वा चित्तबुझ्दो नभए कानुनअनुसार कारबाही हुने चेतावनीसहितको पत्र दिइएको थियो। अब प्रशासनको निर्णय प्रतीक्षित छ।
पाण्डेलाई महानगर प्रमुख बालेन शाहको विश्वासपात्र मान्ने गरिएको छ। बालेनको कमान्डर बनेर उनले महानगरभित्र विभिन्न कारबाही गरेका छन्।

