२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

मन्त्रिपरिषद् बैठकका २८ महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २८ वटा निर्णय गरेको छ। मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरे।

बैठकले जापान सरकारबाट प्राप्त हुने ५७२ मिलियन जापानी येन (करिब ५३ करोड ७६ लाख रुपैयाँ) बराबरको छात्रवृत्ति परियोजनाको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। साथै, बाफिकोट–खुंग्री १३२ केभी प्रशारण लाइन आयोजनाका लागि ३.२७८ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिइएको छ।

नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा वरिष्ठ वैज्ञानिक डा. कृष्णप्रसाद तिम्सिनालाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

बैठकले सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। यस्तै, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न तथा सार्वजनिक सेवा प्रसारण नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित विषय र समसामयिक मुद्दाहरूमा पनि छलफल गरिएको सरकारका प्रवक्ता गुरुङले जानकारी दिए।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस