काठमाडौं । महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) का प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जेठमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरेको छ। उनलाई विभिन्न उपभोक्ता समितिका नाममा रकम झिकेर आफ्नो र श्रीमतीको खातामा जम्मा गरेको आरोप लागेको छ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार, सिंह र उनका सचिवले उपभोक्ता समितिका खातामा रकम जम्मा गरेको देखाएर ती रकम झिकेर निजी प्रयोगमा ल्याएका थिए। यसै सिलसिलामा कायस्थलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। साथै, सिंहको प्रयोगमा रहेका विद्युतीय उपकरणसमेत नियन्त्रणमा लिइएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार

