काठमाडौं । नेकपा (एमाले)को प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको दशौँ महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबे विजयी भएका छन् । उनले अध्यक्षमा प्रत्यासी वर्तमान महासचिव सुमन पुरीलाई पराजित गरेका हुन् ।
थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् ।
पुरीलाई पछि हट्ने वातावरण बनाउन ढकाल, युवासंघकै पूर्व अध्यक्ष महेश बस्नेत, रमेश पौडेल र वर्तमान इन्चार्ज राजीव पहारीसमेत खटिएका थिए । तर पुरी पक्षीय प्यानललाई पछि हटाउन गरेको उनीहरूको प्रयास बिफल भएपछि मंगलबार निर्वाचन भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितका नेताहरूको साथ पाएका क्षितिज थेबेले कार्यकाल दोहोर्याएका हुन् ।
मंगलबार बिहान १० बजेदेखि भएको मतदानका क्रममा ३६० जना प्रतिनिधि अनुपस्थित भए । राष्ट्रिय युवा संघको महाधिवेशनमा जम्मा १ हजार ७६४ प्रतिनिधि थिए । तर १ हजार ४ सय ४ जनाले मात्रै नयाँ नेतृत्वका लागि मतदान गरेका थिए । प्राप्त विवरण अनुसार युवासंघको महाधिवेशनमा कोशीबाट १८५ मत, मधेशबाट १०१ मत, बागमतीबाट १६४, लुम्बिनीबाट १३१, सुदूरपश्चिमबाट ११६, गण्डकीबाट १२३ र कर्णालीबाट १०५ मत खसेको थियो । त्यसैगरि विशेष प्रदेशबाट ६९ र आयोजबाट ४ सय १० सहित जम्मा १४०४ मत खसेको हो ।
एमालेमा गत फागुनयता महाधिवेशन भएका १२ जनसंगठनमध्ये युवासंघमा निर्वाचनमा गएर नेतृत्व छान्ने पहिलो संस्था भएको छ । प्रेस चौतारीसहित अरू ११ संस्थामा सर्वसम्मतका नाममा निर्वाचन कार्यक्रम नै नराखी नेतृत्व चयन गरिएको थियो ।

