काठमाडौं । संघीय संसद्मा आज आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल अपराह्न ४ बजे प्रतिनिधिसभामा बजेट भाषण गर्ने कार्यक्रम रहेको छ। यसपटकको बजेटको आकार १८ खर्ब ६३ अर्ब रूपैयाँ रहेको छ।
सरकारी कर्मचारीका लागि आजको बजेट विशेष अपेक्षाका साथ हेरिएको छ। तीन वर्षदेखि तलब नबढेको अवस्थामा कानूनी व्यवस्था, मूल्यवृद्धि र तलब समायोजनको परम्परालाई ध्यानमा राख्दै यो वर्ष तलब बढ्ने निश्चितजस्तै देखिएको छ। तलब बढेमा निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी र अस्थायी करारमा कार्यरत गरी करिब ५ लाख कर्मचारी लाभान्वित हुनेछन्।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार १० देखि १५ प्रतिशतसम्म तलब वृद्धि हुने सम्भावना छ। यो वृद्धि भएमा सरकारको वार्षिक खर्च करिब २५ अर्ब रुपैयाँले बढ्नेछ।
निजामती सेवा ऐन अनुसार हरेक तीन वर्षमा तलब र भत्ता पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ। कर्मचारी संगठनहरूले पनि यही कानूनी प्रावधान र महँगीको अवस्थालाई औंल्याउँदै समयमै तलब वृद्धि हुनुपर्ने माग गर्दै आएका छन्।
तलब वृद्धिसँगै कर्मचारी संगठनहरूले सामाजिक सुरक्षा कोषमा अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई समावेश गर्ने, सेवा सुविधा सुधार गर्ने र कार्यक्षेत्रमा मनोबल बढाउने गैरमौद्रिक सुविधा पनि माग गरेका छन्।
आज प्रस्तुत हुने बजेटमा तलब वृद्धि मात्र होइन, करका दर हेरफेर, पूँजीगत खर्चको प्राथमिकता, ऋण तथा घाटाको व्यवस्थापन, सहरी पूर्वाधार र सामाजिक सुरक्षाका कार्यक्रमहरू पनि प्राथमिकतामा परेका छन्।
यसअघि आर्थिक वर्ष २०७९/८० मा जनार्दन शर्माले १५ प्रतिशत तलब बढाएका थिए भने विष्णुप्रसाद पौडेलले २०७३/७४ मा २५ प्रतिशत वृद्धि गरेका थिए। यसपटक पनि पौडेल अर्थमन्त्रीका रूपमा कर्मचारीहरूको अपेक्षा पुरा गर्न सक्ने विश्वास गरिँदैछ।

