२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

आज एमाले र राजावादीको प्रदर्शन : जाम हुन नदिन के छ प्रशासनको तयारी?

काठमाडौं । आज गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले र राजावादी समूहहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने कार्यक्रम तय भएपछि काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि झण्डै ८ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ।

एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै सांस्कृतिक झाँकीसहितको र्याली आयोजना गरेको छ भने राजावादी पक्षले गणतन्त्र खारेज गरी राजसंस्थाको पुनर्स्थापनाको मागसहित प्रदर्शन गर्ने तयारी गरेको छ।

एमालेको प्रदर्शन बिहान ११ बजेदेखि सुरु भई साढे २ बजेसम्म चल्नेछ। भृकुटीमण्डपबाट सुरु हुने र्याली शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमै आएर सम्पन्न हुनेछ। उता राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी दल र संस्थाहरूले रत्नपार्क–शान्तिबाटीका क्षेत्रमा प्रदर्शन गर्ने भएका छन्।

दुवै पक्षका प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले शान्ति सुरक्षाका लागि पर्याप्त तयारी गरिएको बताए। ‘कुनै अप्रिय घटना नहोस् र निषेधित क्षेत्रमा प्रदर्शन नहोस् भनेर सुरक्षा योजना बनाइएको हो,’ उनले भने।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार अहिलेका लागि ७८३ जना ट्राफिक प्रहरी सवारी व्यवस्थापनका लागि खटाइएको छ। ‘आवश्यक परेमा थप जनशक्ति पनि परिचालन गरिनेछ,’ उनले अनलाइनखबरसँग भने। उनका अनुसार प्रदर्शन स्थलहरूमा सवारी डाइभर्सनको व्यवस्था मिलाइएको छ र ट्राफिक आवागमन प्रभावित हुन सक्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस