२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

भिजिट भिसा विवाद : विपक्षीका कारण गृहमन्त्रीको पद जोखिममा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता तथा संघीय सांसद मनीष झाले गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा यथेष्ट संलग्नता देखिएकाले अब उनको राजीनामा नै बटमलाइन भएको बताएका छन्। शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीको राजीनामा नभएसम्म सदन सामान्य रूपमा चल्न नदिने चेतावनी दिए।

उनले गृहमन्त्री लेखकको सचिवालयका कर्मचारीसमेत मानव तस्करीको गतिविधिमा संलग्न देखिएको दाबी गर्दै पछिल्लो पाँच महिनामा मात्र ९८ हजार नेपाली भिजिट भिसामा विदेशिएको उल्लेख गरे। झाका अनुसार यो तथ्याङ्क आफैंमा आपत्तिजनक छ र त्यसको प्रत्यक्ष जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ। उनले यस मुद्दामा अधिकांश प्रतिपक्षी दलहरू एउटै मतमा रहेको बताए।

त्यस्तै, राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि थालेको आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको विमति रहेको बताउँदै झाले आन्दोलनको मुख्य कारण भ्रष्टाचार र राज्यको व्यवहार भएको टिप्पणी गरे। उनले कांग्रेस र एमालेले नै भ्रष्टाचार र मानव तस्करीजस्ता कार्यको नेतृत्व गरेको आरोप लगाए। उनका अनुसार, आजको असन्तुष्टिको कारण वर्तमान व्यवस्था भन्दा पनि राज्यको चरित्र र सरकारको आचरण हो।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस