काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँले मूल्य वृद्धि गरेको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।
पेट्रोलको नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १५९ रुपैयाँ पर्छ भने सुर्खेत र दाङमा १५८ रुपैयाँ कायम भएको छ। चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पनि काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १४३ रुपैयाँ, सुर्खेत र दाङमा १४२ रुपैयाँ र अन्य स्थानहरूमा १४० रुपैयाँ ५० पैसा कायम गरिएको छ।
यसैबीच, हवाइ इन्धनको मूल्य घटाइएको छ। आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जानकारी दिएको छ।


