काठमाडौं । गण्डकी प्रदेश सरकारको राइड सेयरिङसम्बन्धी निर्णयविरुद्ध सार्वजनिक यातायात व्यवसायीहरूले भोलिदेखि गाडी थन्क्याएर सेवा ठप्प पार्ने घोषणा गरेका छन्।
व्यवसायीहरूले निजी सवारीलाई सार्वजनिक यातायातसरह प्रयोग गर्न दिनु संविधान र कानूनविपरीत भएको आरोप लगाउँदै सोमबारदेखि गाडी ग्यारेजमा थन्क्याउने निर्णय गरेका हुन्।
आन्दोलनमा सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलगायत सात वटा संगठनको सहभागिता रहेको छ।
संविधानको धारा ५७ र सवारी ऐन २०४९ विपरीत नीजि सवारीलाई यात्रु ओसार्ने अधिकार दिनु न्यायसंगत नभएको उनीहरूको तर्क छ। पटकपटक ध्यानाकर्षण गर्दा पनि सरकारबाट सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।
संगठित व्यवसायीहरूले विज्ञप्ति जारी गर्दै २०८२ जेठ १९ गतेदेखि अनिश्चितकालका लागि सेवा बन्द गर्ने बताएका छन्। यात्रु र सरोकारवालालाई पर्न सक्ने असुविधाको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनीहरूको माग छ।


