काठमाडौं । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गण्डकी प्रदेश सरकारले संघीय सरकारसँग भएको सहमति कार्यान्वयन नगरे आन्दोलन अझ सशक्त रूपमा अघि बढाउने चेतावनी दिएको छ।
समितिका अध्यक्ष विजय बहादुर स्वारले सोमबार एक विज्ञप्ति जारी गर्दै सबै यातायात व्यवसायी, मजदुर, कर्मचारी र स्वरोजगारहरूलाई आन्दोलन सशक्त बनाउन आह्वान गरेका हुन्। उनले गण्डकी प्रदेश सरकारले सहमति पालना नगरे भोलिदेखि आन्दोलन थप उग्र बनाउने जानकारी दिए।
‘संघीय सरकारसँग भएको सहमतिको कार्यान्वयन नभएमा आन्दोलन अझ सशक्त बनाइनेछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सम्बन्धित सबै पक्षमा यसबारे गम्भीर ध्यान दिन अनुरोध छ।’
विज्ञप्तिमा भोलि पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनका आगामी कार्यक्रमहरू र सरकारसँग भएका सम्झौताहरू सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।
उता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने सहमति कार्यान्वयनका लागि गण्डकी प्रदेश सरकारलाई पत्र पठाएको जनाएको छ। सो पत्रबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल जारी रहेको स्रोतले जनाएको छ।

