२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

बहुप्रतिष्ठित योजनासहित धामीको सशक्त दाबी : ‘अखिललाई नयाँ युगमा लैजाने उद्घोष’

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर परिसरमा सुरु भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशनले विद्यार्थी राजनीतिमा नयाँ नेतृत्वको बाटो खोल्दैछ। नेकपा एमाले निकट यो ऐतिहासिक विद्यार्थी संगठनको महाधिवेशनले संस्थागत रूपान्तरणसँगै नेतृत्व हस्तान्तरणको मार्ग तय गरिरहेको छ।

शुक्रबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भव्य उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको महाधिवेशनले शनिबारदेखि बन्द सत्र प्रारम्भ गरेको छ। यससँगै नेतृत्व चयनको प्रक्रिया विधिवत् रूपमा अघि बढेको हो।

पार्टीको निर्णय अनुसार ३२ वर्ष उमेर हद लागू भएसँगै अध्यक्ष पदका लागि नयाँ पुस्ताको प्रतिस्पर्धा तीव्र बनेको छ। पाँच सचिवमध्ये चार जनाले अध्यक्षमा आकांक्षा व्यक्त गरेका छन् । दीपक धामी, प्रकाश पौडेल, डा. सुजन कडरिया र अञ्जना सिवाकोटी अध्यक्षको दौडमा छन् । आरती भट्टराई भने अध्यक्ष पदको दौडमा छैनन्।

तर वर्तमान सन्दर्भमा डोटीका दीपक धामी आफ्नो अनुभव, योजनात्मक सोच र संगठनप्रतिको समर्पणका आधारमा सबैभन्दा सशक्त दाबेदारको रूपमा उदाएका छन्।

विद्यालय तहदेखि नेतृत्वसम्मस् धामीको लामो यात्रा

शिखर नगरपालिका, डोटीका धामीले विद्यार्थी राजनीतिमा दुई दशकको समय दिएका छन्। उनले विद्यालय कमिटी सदस्यबाट सुरु गरेको यात्रालाई केन्द्रीय सचिवसम्म पुर्‍याइसकेका छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गत पीएन क्याम्पसमा कानून विषयमा अध्ययनरत धामीले संगठनलाई जीवनकै अभिन्न अङ्ग बनाएको बताउँछन्।

‘संगठनले मलाई बनायो, अब म संगठनलाई नयाँ दिशामा लैजान चाहन्छु’, प्रतिनिधिहरू माझ बोलेका उनका शब्दहरूमा आत्मविश्वास झल्किन्छ।

पारदर्शिता, समावेशिता र प्रविधिमैत्री नेतृत्वको प्रतिज्ञा
धामीले प्रस्तुत गरेको कार्य योजना बहुआयामिक र दूरदर्शी देखिन्छ। शैक्षिक सुधारदेखि विद्यार्थी कल्याण, संगठनात्मक पुनर्संरचना र डिजिटल रूपान्तरणसम्मका लक्ष्यहरू समेटिएको यस योजनाले अनेरास्ववियुलाई २१औँ शताब्दीको चुनौतीसँग सामना गर्न सक्षम बनाउने दाबी गरिएको छ।

मुख्य योजनाहरू

  • शैक्षिक सुधार अभियान- गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि दबाबमूलक कार्यक्रम।
  • विद्यार्थी सीप विकास- उद्यमशीलता र नेतृत्व तालिमद्वारा प्रतिस्पर्धात्मक क्षमता वृद्धि।
  • सङ्गठनात्मक पारदर्शिता- क्याम्पसदेखि केन्द्रसम्म जबाफदेही संरचना।
  • समावेशी नेतृत्व- जाति, वर्ग र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता।
  • डिजिटल रूपान्तरण- प्रविधिको प्रयोगद्वारा सूचना प्रणालीको आधुनिकीकरण।
  • विद्यार्थी कल्याण कोष- छात्रवृत्ति, परामर्श सेवा र आकस्मिक सहयोगका लागि कोष स्थापना।

“अनुभवले परिपक्व, ऊर्जाले सक्षम, योजनाले अग्रगामी”
धामीको आत्मविश्वास स्पष्ट छ— ‘म केवल नेतृत्व सम्हाल्ने हैसियतमा होइन, परिवर्तन ल्याउने अभियानमा छु।’ उनको भनाइमा नेतृत्वमा पुस्तान्तरणको यो अवसर केवल शक्ति सन्तुलन होइन, दृष्टिकोणको नवीनता पनि हो।

उनले अनेरास्ववियुलाई केवल संगठनका रूपमा होइन, विचार, व्यवहार र उद्देश्यमा रूपान्तरण गरेर नयाँ उचाइमा पुर्‍याउने अठोट व्यक्त गरेका छन्।

विद्यार्थी राजनीतिमा गम्भीर रूपान्तरणको संकेत दिइरहेको यो महाधिवेशनमा दीपक धामीजस्ता योजनाबद्ध, अनुभवी र ऊर्जाशील नेतृत्वको चर्चा प्रमुख बनेको छ। नेतृत्वको चयन केवल व्यक्ति होइन, भविष्यको दिशा निर्धारण गर्ने मोडमा पुगेको छ। यदि धामीको योजनाले समर्थन पायो भने अनेरास्ववियु केवल परम्परागत संगठन होइन, नयाँ युगको अग्रदूत बन्नेछ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस