२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

२४२ जना यात्रु बोकेर उडेको विमान भारतको मेडिकल कलेजमा खस्यो : यस्तो छ सवार यात्रुको विवरण

Details of Passengers on Board the Crashed Aircraft in India That Carried 242 People

काठमाडौं । २४२ जना यात्रु बोकेर उडेको विमान विमानस्थल नजिकको विशाल मेडिकल कलेजको कम्प्लेक्समा खसेको छ । विमान दुर्घटनापछि उक्त मेडिकल कलेजसमेत छियाछिया भएको छ । बेलायतका लागि उडेको विमान भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै खसेको हो । दुर्घटना भएको जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७–ड्रिमलाइनर’ जहाज हो । यसको दर्ता नम्बर ‘भीटी–एएनबी’ हो ।

यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो । अहमदावाद विमानस्थल समुद्र सतहबाट २ सय फिट उचाइमा अवस्थित छ । जहाजले धावनमार्ग छाडेर ६ सय २५ फिट उचाइमा पुग्नासाथ झरेको थियो । जहाज खस्दा प्रतिमिनेट ४ सय ७५ फिटको गतिमा खसेको थियो । धावनमार्ग छाडेको दुई मिनेट नहुँदै जहाज दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा १६९ जना भारतीय, ५२ जना बेलायती नागरिक रहेको पुष्टि भएको छ । एक जना क्यानडेली नागरिक, पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन् । जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस