२०८३ भाद्र १४ गते आइतवार | 2026 August 30th Sunday

बालुवाटारमा प्रधानमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच डेढ घन्टा लामो भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ। स्रोतका अनुसार भण्डारी साँझ करिब ७ बजे बालुवाटार पुगेकी थिइन्, जहाँ ओली र उनीबीच पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिबारे करिब डेढ घन्टा सघन छलफल भएको थियो।

राजनीतिक वृत्तमा ओली–भण्डारी सम्बन्धमा चिसोपन आएको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। उनीहरूबीच समसामयिक राजनीतिक विषयबारे पनि छलफल भएको बताइएको छ।

स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारीले हालै सम्पन्न चीन भ्रमणका अनुभव र भेटघाटका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन्।

भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला एमालेभित्र त्यसबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यस्तैमा पार्टीका एक नेताले अन्नपूर्णसँग प्रतिक्रिया दिँदै भने, ‘पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कुनै विवाद छैन। दुवै जना मिलेर पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउनुहुन्छ।’

प्रकाशित मिति : २०८२ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस