काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ९ असार काठमाडौंस्थित विशेष अदालतमा हाजिर भएका छन् । उनले पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा अदालत उपस्थित भएको बताए । बुधबार सुरु हुने बयान छिटोछरितो रुपमा टुंग्याउने नेपाल निकट कानून व्यवसायीहरूको योजना छ ।
बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ । जहाँ नेपालका कानून व्यसायीहरूले उनलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउनुपर्ने जिकिर गर्नेछन् । सरकारी वकिलले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको प्रतिरक्षा गर्दै नेपाललाई थुनामा राख्नुपर्ने तर्क गर्नेछन् । पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।
आरोप के हो ?
पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

