२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

आइसीसी क्रिकेट विश्वकप लिग २ : नेपालले आज नेदरल्यान्डसँग खेल्दै

२७ जेठ , काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ । यो श्रृङ्खलाको अन्तिम खेलका रूपमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ ।

पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो । हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् जसमा ३ जित नेपालले दर्ता गरेको छ भने ३ जित नेदरल्यान्ड्सले दर्ता गरेको छ ।

अंक तालिकामा नेदरल्यान्ड्सले २२ खेलमा १२ जित, ८ हार र दुई नतिजाहीन खेलसहित २६ अंक जोडेको छ । हालको तालिकामा नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । नेपाल भने १५ खेल खेलिसक्दा ४ जित, ९ हार र २ खेलमा अङ्क बाँड्दै १० अंक जोड्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस