२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

नेदरल्यान्ड्समाथी नेपालको रोमाञ्चक जित, नन्दनले अन्तर्राष्ट्रिय डुब्यूमै लिए तीन विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले नेदरल्यान्ड्समाथि रोमाञ्चक जित हात पारेको छ । डन्डीस्थित फोर्टहिलमा टस जितेर फिल्डिङ रोजेको नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य पूरा गर्न ४९.२ ओभरमा नै रोक्दै नेपालले १६ रनले जित्यो ।

खेलमा नन्दन यादवले अन्तर्राष्ट्रिय डेब्यूमा नै एकपछि अर्को गर्दै तीन विकेट लिए । ४९.२ ओभरमा अलआउट भएको नेदरल्याण्ड्सले २२० रन मात्र बनायो ।

वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए भने कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए । काइल क्लेइनले २५ र नोआ क्रोएसले २२ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेछ हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले आरिफ शेखको संयमित ब्याटिङमा ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाउँदै २३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । आरिफले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरे । उनी अन्तिम ओभरको तेस्रो बलमा बोल्ड आउट भएका थिए ।

त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए । कुशल भुर्तेलले १८ तथा दिपेन्द्रसिंह ऐरीले १६ रन बनाए । नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा पनि जित निकालेको थियो । योसँगै नेपालले यस शृंखलाका ४ मध्ये ३ खेलमा जित निकालेको छ । योसँगै लिग २ शृंखलामा नेपालको १६ खेलबाट १२ अंक भएको छ र सातौं स्थानमा छ । नेदरल्याण्ड्सको २३ खेलमा २६ अंक छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस