२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

जनार्दनको अभिव्यक्तिले यता माओवादीमा पनि हलचल, आजै प्रतिवाद गर्ने प्रचण्डको तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरको अभिव्यक्तिले पार्टीको आन्तरिक जीवनमा तरंग उत्पन्न भएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसको अवसरमा मंंगलबार माक्र्सिज्म स्कुलद्वारा आयोजित तीन कम्युनिष्ट पार्टीका युवा नेताहरु बीचको अन्तरक्रिया कार्यक्रम उपमहासचिव शर्माले पार्टी पुनर्गठनदेखि झांगिएको बेथितिबारे प्रश्न गरेका थिए ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल सहभागी अन्तरक्रिया कार्यक्रममा माओवादी उपमहासचिव शर्माले कम्युनिष्ट आन्दोलनमा देखिएको भ्रष्टीकरणबारे प्रश्न गरेका थिए ।

उनले माओवादी पार्टीमा नेतृत्व पुस्तान्तरणदेखि कम्युनिष्ट नेताहरुको भ्रष्टीकरणबारे प्रश्न उठाउँदै सत्तामा रहेका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका थिए ।
नेपाली राजनीतिमा पछिल्लो समय मौलाएको बिचौलिया प्रवृत्ति र कम्युनिष्ट आन्दोलनको भ्रष्टीकरणमा एमालेको ९ महिने सरकारको नेतृत्व गरेका मनमोहन अधिकारी बाहेक अरु कोही पनि अछुतो नरहेको बताएका थिए ।

उपमहासचिव शर्माको आफ्नै पार्टी अध्यक्ष लगायत हालसम्मैका कम्युनिष्ट प्रधानमन्त्री लक्षित यस्तो अभिव्यक्तिले माओवादीभित्र निकै ठूलो तरंग पैदा भएको एक नेताले बताए ।

ती नेताका अनुसार शर्माको उक्त अभिव्यक्तिपछि अध्यक्ष प्रचण्डले आफू निकटस्थसँग छलफल समेत गरेका थिए । ‘आफ्नै अध्यक्ष समेत चोखो नरहेको भावको अभिव्यक्तिपछि अध्यक्ष कमरेड प्रचण्ड समेत सशंकित हुनुभएको छ ।,’ ती नेताले भने ।

यस्तै पार्टीका केही नेताहरुले शर्माको अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमै उत्रिएका छन् । माओवादी निकट विद्यार्थी संगठन अखिल९क्रान्तिकारी०का पूर्वअध्यक्ष रहेका लेखनाथ न्यौपाने लगायतले शर्माको अभिव्यक्तिविरुद्ध सामाजिक सञ्जालमा अनर्गल लेखेर प्रतिवाद गरिरहेका छन् ।

अर्का एक केन्द्रीय सदस्यका अनुसार न्यौपाने कुनै स्पष्ट अडान नभएका नेता हुन् । न्यौपानेले आफूलाई फरक देखाउन अनेकौं लेख्ने गरेको तर जीवन व्यवहार भने त्यस विपरीत रहेको भन्दै ती केन्द्रीय सदस्यले व्यंग्य गरे । उनको अभिव्यक्ति र फेसबुके लेखनको पार्टीमा कुनै औचित्य नरहेको ती केन्द्रीय सदस्य बताउँछन् ।

यस बारेमा माओवादी प्रवक्ता अग्नि सापकोटासँग जिज्ञासा राख्दा सार्वजनिक फोरममा राखेको विषयमा पार्टीको आधिकारकि धारणा नभएको बताए । उनले यस बारेमा पार्टीमा छलफल गरिने बताउँदै पन्छिए ।

बुधबार९आज० राष्ट्रिय सभा गृहमै पुष्पलाल स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड सहभागी हुँदैछन् । सोही स्थानबाटै प्रचण्डले मंगलबार उपमहासचिव शर्माको अभिव्यक्तिको प्रतिवाद गर्ने तयारी गरेको माओवादी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस