काठमाडौँ । कुलिङ अफ पिरियडको प्रावधानका सम्बन्धमा गडबडी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा म्याद थप सम्बन्धी प्रस्ताव सभामुख देवराज घिमिरेले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव स्वीकृत भएको उनले घोषणा गरेका छन् ।
गत असार २३ गते प्रतिनिधि सभाले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे हेरफेरका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको थियो ।
समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । समितिमा नेपाली कांग्रेसका सांसदहरू जीवन परियार र सुशीला थिङ सदस्य छन् भने नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् ।
नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।
समिति गठन हुँदा सभामुख देवराज घिमिरेको २१ दिनको समय दिएका थिए । उक्त समय साउन ११ गते सकिँदैछ ।

