काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको चरम अभाव समाधान गर्न तत्काल पाँच सय ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन्। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो प्रतिबद्धता व्यक्त गरे ।
हवाई उडानमार्फत मधेस आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उनले मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइ र खानेपानीको समस्या समाधान गर्न सरोकारवाला पक्षहरूसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने बताए ।
प्रधानमन्त्री ओलीले मधेस प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको चर्चा गर्दै बाँकी सातवटै जिल्लामा पानीको समस्या समाधानका लागि सरकार जुटिसकेको बताए। उनले मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेका सन्दर्भमा यस क्षेत्रका किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रूपमा प्रभावित जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गरे।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले शिक्षाविना चेतना र विकास असम्भव हुने प्रसङ्ग उल्लेख गर्दै भने, “जहाँ शिक्षा छ त्यहाँ चेतनासहितको विकास छ, जहाँ शिक्षा छैन त्यहाँ गरिबी र अभाव छ। आफ्ना छोराछोरीलाई भेदभाव नगरिकन विद्यालय पठाउन स्थानीय बासिन्दासमक्ष अनुरोध छ।” उनले गरिबी निवारणसहित परिवार, समाज र देश विकासमा शिक्षा आवश्यक रहेको उल्लेख गर्दै शिक्षालाई प्राथमिकता दिन पनि अनुरोध गरे ।

