२०८२ असोज ४ गते शनिवार | 2025 September 20th Saturday

श्रीमानले श्रीमतीलाई पेट्रोल पम्पमै बिर्सिए, ३०० किलोमिटर अघि गएपछि मात्र थाहा पाए !

पेरिस । गत जुलाई ५ मा पेरिसका एक व्यक्ति आफ्नी श्रीमती र छोरीका साथ कारमा मोरक्कोका लागि छुट्टीमा निस्किए। बाटोमा उनीहरूले धेरै पेट्रोल पम्पमा विश्राम गरे, तर एउटा यस्तै विश्रामका क्रममा अनौठो घटना भयो।

बिहान करिब ४ः ३० बजेतिर ती व्यक्ति, जसको नाम सञ्चारमाध्यमले खुलाएका छैनन्, आफ्नी श्रीमतीलाई पेट्रोल पम्पमै बिर्सेर हिँडे। उनलाई आफ्नो गल्ती करिब ३०० किलोमिटर यात्रा गरिसकेपछि मात्र थाहा भयो। त्यसपछि उनले तुरुन्तै आपत्कालीन सेवामा फोन गरेर सहयोग मागे।

यो एकदमै अनौठो घटना थियो, किनकि उनले आफ्नी श्रीमतीलाई पेट्रोल पम्पमा कसरी बिर्से भनेर मात्र होइन, कुन पेट्रोल पम्पमा बिर्से भन्ने कुरा सम्झन पनि उनलाई गाह्रो भइरहेको थियो। ‘हामीलाई बिहान ८ : ३० बजेतिर यो निकै अनोठो फोन आयो,’ फ्रान्सको लार्ड्स क्षेत्रको जेन्डरमेरीले बतायो, ‘ती व्यक्तिलाई आफू कहाँ र कहिले रोकिएको थियो भन्ने कुरा याद थिएन। उनले ओर्लियन्स नजिकै विश्राम गरेको उल्लेख गरे। हामीले हाम्रा सहकर्मीहरूलाई त्यहाँ जाँच गर्न सम्पर्क गर्‍यौँ।’

चाखलाग्दो कुरा के छ भने, दम्पतीकी २२ वर्षीया छोरी पूरै समय कारमा थिइन्, तर उनी निदाइरहेकी थिइन् र बुबाले आमालाई कहाँ बिर्से भन्नेबारे उनलाई पनि कुनै जानकारी थिएन, जसले गर्दा उनले प्रहरीलाई खासै सहयोग गर्न सकिनन्।

प्रहरीले राजमार्गका धेरै विश्रामस्थलहरूमा जाँच गर्दा पनि हराएकी महिलालाई फेला पार्न सकेन, जसले गर्दा स्थिति झन् तनावपूर्ण बन्यो। प्रहरीलाई ६२ वर्षीय ती व्यक्तिले जानाजानी श्रीमतीलाई बिर्सेको पो हो कि भन्ने शङ्का लाग्न थाल्यो।

भाग्यवश, यो अनौठो कथाको सुखद अन्त्य भयो । प्रहरीले मोबाइल नेटवर्क अपरेटरको सहयोगमा महिलाको फोन ट्र्याक गरेर उनलाई फेला पार्न सफल भयो। उनी ड्यूक्स–सेभ्रेसस्थित एउटा मोटरवे सर्भिस स्टेसनमा थिइन्, जहाँ उनका पतिले आफूलाई बिर्सेको थाहा पाएको ठाउँबाट ३०० किलोमिटर टाढा थियो। ती महिला बिहान ४ः ३० बजेदेखि परिवार फर्कने प्रतीक्षामा त्यहीँ बसिरहेकी थिइन्। छोटो अनुसन्धानपछि, प्रहरीले ती पेरिसका व्यक्तिले साँच्चै आफ्नी श्रीमतीलाई बिर्सेको निष्कर्ष निकाल्यो। अन्ततः परिवारको पुनर्मिलन भएपछि उनीहरूलाई मोरक्कोको यात्रा जारी राख्न अनुमति दिइयो।

प्रकाशित मिति : २०८२ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस