२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

क्रिकेटमा चमत्कार ! -क्याम्फरले ५ बलमा ५ विकेट लिएर रचिदिए इतिहास

Miracle in cricket! - Campher creates history by taking 5 wickets in 5 balls

काठमाडौं । विश्व क्रिकेटमा एक अविश्वसनीय क्षण — आयरल्यान्डका अलराउन्डर कर्टिस क्याम्फरले व्यावसायिक क्रिकेटमा ५ बलमा लगातार ५ विकेट लिँदै इतिहास रचेका छन्। उनी यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो पुरुष खेलाडी बनेका हुन्।

इंटर-प्रोभिन्सियल टी-२० ट्रफी अन्तर्गत मन्स्टर रेड्सका लागि खेल्दै क्याम्फरले नर्थ-वेस्ट वारियर्सविरुद्धको खेलमा सिर्जनात्मकता, आत्मविश्वास र विस्फोटक बलिङ प्रदर्शन गर्दै क्रिकेटको पाना फेरिदिए।

५ बल, ५ विकेट: यस्तो पनि सम्भव हुन्छ?
सबै कुरा सामान्य लागिरहेको थियो, जबसम्म क्याम्फरको १२औं ओभरको पाँचौं बलमा पहिलो विकेट लिएनन्। त्यसपछि भने मैदानमा जादू चल्यो—

पाँचौं बल: जेरेड विल्सन बोल्ड
छैटौं बल: ग्राहम ह्युम LBW
अर्को ओभरको पहिलो बल: ह्याट्रिक! एन्डी म्याकब्राइन क्याच
दोस्रो बल: रोबी मिलर विकेटकीपरबाट क्याच
तेस्रो बल: जोस विल्सन क्लीन बोल्ड!

केवल ५ बल, र विपक्षीको इनिङ्ग ८७/५ बाट ८८ अलआउट !

‘मैले त सामान्य नै बलिङ गरेँ’ – क्याम्फर
खेलपछि क्याम्फरले भने, “ओभर परिवर्तन भएकाले के भइरहेको थियो, थाहा थिएन। योजना अनुसार सामान्य बल हानेँ, भाग्यले साथ दियो।”

६ बलमा ६ विकेटको सम्भावनाबारे सोध्दा उनले हाँस्दै भने, “त्यो त अलिक धेरै हुन्थ्यो होला, जे भयो, त्यही नै विशेष थियो।”

चोटपछिको कमब्याक, ऐतिहासिक प्रदर्शन
औंलाको चोटका कारण वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाएका क्याम्फरको यो केवल दोस्रो खेल थियो। पहिलो खेलमा उनले ५७ रन बनाए, दोस्रोमा भने २४ बलमा ४४ रन र ५ बलमा ५ विकेट लिएर पुनरागमनलाई ऐतिहासिक बनाए।

पहिले पनि थियो यस्तो कीर्तिमान – तर महिलातर्फ
क्याम्फर पुरुष क्रिकेटमा यो कीर्तिमान बनाउने पहिलो खेलाडी हुन्, तर महिला क्रिकेटमा जिम्बाब्वेकी केलिस नामले सन् २०२४ मा पाँच बलमा पाँच विकेट लिईसकेकी छिन्। क्रिकेटको इतिहासमा यस्ता क्षण विरलै आउँछन् – क्याम्फरको नाम अब अमर रहला!

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस