२१ असार , काठमाण्डौँ । एसिसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता २०२५ को उपाधि नेपालले जितेको छ । शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले चौथोपटक उपाधि जितेको हो । फाइनलमा सिंगापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपालका लागि जोय थापाले ५३ बलमा तीन चौकासहित सर्वाधिक २४ रन बनाए ।
त्यसअघि मलेसियाको युकेएम वाइएसडी ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ४०।५ ओभरमा १ सय १३ रनमा अलआउट भयो ।
उसका लागि रोहन अस्टिन अरुणले २३, रियान नाइकले १५, बेदानाश गुप्ताले १२ र आकाश तेजाले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
सिंगापुरलाई कम स्कोरमा अलआउट गर्नेक्रममा अभय यादव र सुशीलकुमार रावलले तीन–तीन तथा शुभम खनालले दुई तथा कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिए । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।

