काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनबाट गरिएको ७० बर्षपछि र दुई कार्यकालपछि विश्राम लिने उमेर र कार्यकाल हदको व्यवस्था हट्ने भएको छ । सचिवालय बैठकमा आगामी विधान महाधिवेशनबाट यी व्यवस्था हटाउने प्रस्ताव लैजाने निर्णय भएको हो । पूर्वराष्ट्रपति बिद्या भण्डारीको विषयमा भने फेरि छलफल गरेर निर्णय लिने सचिवालयको निर्णय छ ।
यसअघिको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नै यो प्रस्ताव महाधिवेशनमा पेस गर्दै पारित समेत गराएका थिए । यो उमेर र कार्यकालको हद कायम रहे अबको महाधिवेशनमा ओलीलाई नै छेक्नेछ । उनीले दुई कार्यकालपनि पूरा गर्दैछन् र ७० बर्षपनि पार गरेका छन् । एमालेको आगामी नेतृत्वमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने संकेत देखिएपछि विद्यालाई छेक्न यसो गरिएको धेरैको अनुमान छ ।
त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् । उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको सचिव योगेश भट्टराईले जानकारी दिए । विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ । त्यसपछि भदौमा बस्ने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित भएपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउनेछ ।
करिब १० घण्टा बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि सबै सदस्यले धारणा राखेपछि अध्यक्ष ओलीले प्रस्तावित विधानमा आफ्नो राय राखेका थिए । यसैबिच शुक्रबार ११ बजे बस्ने भनिएको पोलिटब्युरो बैठक दिउसो १ बजे बस्ने तय भएको छ ।

