खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर –३ सापातेलमा दिदी भाई मृत भेटिएका छन् । गोबिन्द बस्नेतको छोरी ११ वर्षीया मेनिषा बस्नेत र ६ वर्षीय मेघराज बस्नेत मृत फेला परेका हुन् ।
घरमा कसैलाई थाहा नदिइ वडा नम्बर–२ मा पर्ने साप्सुखोलामा बुधबार साथीहरुसङ्ग गएका र घर नफर्केपछि खोजतलास गर्नेक्रममा चेपा भिरबाट एक हजार मिटर तल खरुवा खोलामा खसेर पानीमा डुविरहेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शुसान्त मिश्र जानकारी दिए ।
उनीहरुसँग गएका अन्य ४ जना साथीहरु भने सकुशल भेटिएका छन् । मृत अवस्थामा फेला परेका दिदिभाईको शव शुक्रवार गुपचुप खाल्डो खनेर पुरेको भन्ने जानकारी आएपछि घटनास्थलमा प्रहरी टोली पुगेर सुरक्षित गरेको मिश्रले बताए ।
मृत भेटिएका दिदिभाईको कानूनी प्रक्रिया पुरा नगरि गाउँले मिलेर अन्त्यष्टि गरेको पाइएको हो । घटनाका विषयमा आवश्यक अनुशन्धान सुरु भएको छ। मृतक दिदिभाईका बुबा शान्ति निकेतन माविका कार्यालय सहयोगी रहेको र श्रीमतीले अर्कै बिबाह गरेपछि दुई छोरी र एक छोरासहित उनी घरमा बस्दै आएका थिए।

