२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

चीनकी यी १२ वर्षीया बालिकाले रचिन् इतिहास

काठमाडौँ । चीनकी यु झिदी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पदक जित्ने इतिहासकै सबैभन्दा कान्छो पौडी खेलाडी बनेकी छिन्। चिनियाँ टोलीले रिले प्रतियोगितामा कांस्य पदक जित्न सफल भएको हो । १२ वर्षीया यु झिदीले यस हप्ता महिला ४x२०० मिटर फ्रिस्टाइल रिलेको प्रिलिमिनेरी (हिट्स) मा भाग लिइन् । यद्यपि उनले बिहीबारको फाइनलमा भाग लिइनन्, तर प्रिलिमिनेरीमा पौडी खेलेकीले उनलाई पदकको लागि योग्य मानिएको थियो ।

सिंगापुरमा भएको फाइनल खेलमा चिनियाँ टोली तेस्रो भयो। अस्ट्रेलिया पहिलो र अमेरिका दोस्रो भयो ।योसँगै यु झिदी पछिल्लो ९० वर्षमा कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन्।

यसअघि, सन् १९३६ को ओलम्पिकमा, डेनमार्ककी इन्गे सोरेनसेनले आफ्नो १२ औँ जन्मदिनको एक महिनाभन्दा कम समयमा २०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्य पदक जितेकी थिइन् ।

‘यो एकदमै भावनात्मक क्षण हो, र यो साँच्चै राम्रो महसुस हुन्छ,’ यु झिदीले भने। अक्टोबरमा १३ वर्ष पुग्ने यु झिदी बिहीबार महिला २०० मिटर बटरफ्लाइ फाइनलमा पदक जित्ने नजिक पुगिन् तर थोरै अन्तरले चौथो स्थानमा रहिन् ।

सोमबार भएको व्यक्तिगत मेडले फाइनलमा, यु झिदी पदक जित्नबाट ०.०६ सेकेन्डले चुकिन् र चौथो स्थानमा रहिन् ।

मे महिनाको सुरुमा, युले २०० मिटर व्यक्तिगत मिडलेमा १२ वर्षका बालबालिकाका लागि विश्व कीर्तिमान कायम गरेकी थिइन्। उनले केवल २ मिनेट १०.६३ सेकेन्डमा दूरी पूरा गरिन् । उनको प्रदर्शन पछि, ‘वल्र्ड एक्वाटिक्स’ संस्थाले उनलाई सामाजिक सञ्जालमा ‘सनसनी’ को संज्ञा दिएको थियो ।

प्रकाशित मिति : २०८२ साउन १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस