२०८२ असोज ३ गते शुक्रवार | 2025 September 19th Friday

बालेनको दोहोरो चरित्र : बाहिर नीतिको कुरा भित्र मनपरी तन्त्र

काठमाडौं । राजनीतिक दलहरुलाई कार्यक्रम आयोजना पछि सडक फोहोर पारेको निहुँमा लाखौं रुपैयाँ जरिवाना तिराउने काठमाडौं महानगरपालिकाले जेन–जी ध्वंसमा सार्वजनिक सम्पत्ति खरानी हुँदा मौनता अपनाएको छ।

मेयर बालेन्द्र साह (बालेन) को पूर्ण समर्थन र ग्राण्ड डिजाइनमा भएको आन्दोलनरुपी जेन–जी ध्वंसमा काठमाडौंका सडक, सरकारी भवन र निजी संरचनामा व्यापक क्षति पुगेको छ। तर अन्य बेला सामान्य सार्वजनिक कार्यक्रममा सडक फोहोर भएको भन्दै जरिवाना तिराएको महानगर यस पटकको अकल्पनीय क्षतिमा चुपचाप बसेको छ।

भदौ २३ र २४ गते देशभर भएको ध्वंसमा ७० भन्दा धेरैको मृत्यु र खर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। आन्दोलनको नाममा मच्चाइएको उपद्रवमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतल निवास, बालुवाटार लगायत महत्वपूर्ण सरकारी भवन ध्वस्त भएका छन्।

राजनीतिक दलका पार्टी कार्यालय, नेताहरुका घर र व्यापारिक केन्द्र पनि क्षतिग्रस्त भएका थिए। आन्दोलनको क्रममा बालिएका टायर, सवारी साधन, प्रहरी भवन तथा सरकारी–निजी सम्पत्तिका कारण काठमाडौंका हरेक सडक फोहोर र धुँवाले भरिएका थिए।

यस्तो मौनता आन्दोलनको प्रमुख रहस्यमय पात्र मेयर बालेन्द्र साहसँग जोडिएको बताइन्छ। आन्दोलनको अघिल्लो दिन उनले फेसबुकमा स्टाटस लेख्दै आफ्नो भरपुर समर्थन जनाएको थिए। आन्दोलनमा पानी बाँड्न र घुम्ती शौचालय व्यवस्थापन गर्न समेत महानगरको सहयोग रहेको थियो।

महानगरले जेन–जीले गरेको फोहोर आफैं उठाउन थालेको छ। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार हालसम्म तीन सय ७४ ट्रिप फोहोर संकलन गरिएको छ। पाण्डेले भने, ‘सडकमा देखिएको फोहोर जलेका गाडीबाट उत्पन्न भएको हो, त्यसलाई सहयोग गरेर डम्प गरिरहेका छौं।’

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने, ‘जेन–जी आन्दोलनले देशमा परिवर्तन ल्याएको छ। त्यसैले अब महानगर पुरानो शैलीमा काम गर्दैन। हाम्रो काम भनेकै महानगर क्षेत्रमा हुने फोहोर सफा गर्नु हो, त्यसैमा केन्द्रित छौं।’

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस