२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

विपिनको निधनप्रति पहिलोपटक बोलिन प्रधानमन्त्री कार्की (पत्रसहित)

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

मङ्गलबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्कीले जोशीको आत्माको चिरशान्तिको कामना गर्दै भन्नुभयो, “उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।

प्रधानमन्त्रीले दुई वर्षदेखि बन्धकमुक्त हुने आशा र सामूहिक प्रार्थनाबीच आएको विपिनको निधनले आफू स्तब्ध भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ। म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु।

प्रधानमन्त्री कार्कीले विपिन जोशी केवल एक विद्यार्थी नभई विदेशमा अध्ययनरत हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्नुभयो। उहाँको जीवन उत्साह, लगनशीलता र सहयोगी स्वभावले भरिएको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “उहाँ सकुशल फर्किएर नेपालको विकासमा योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो।

प्रधानमन्त्रीले शान्तिप्रिय नेपाली युवा जोशी अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुपरेको भन्दै भनिन्, “उहाँको अपहरणपछि सरकार र सम्पूर्ण नेपाली जनता उहाँको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका थिए। उहाँको निधनको यो खबरले हाम्रा दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको छ।

प्रधानमन्त्रीले जोशीले बन्धक हुनुपूर्वका अन्तिम क्षणमा देखाउनुभएको साहस, बहादुरी र त्यागका कारण कैयौं साथीहरूको ज्यान बचाउन सफल भएको उल्लेख गर्दै भनिन्, “उहाँको यो वीरतापूर्ण कार्य उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस