२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

खगेन्द्र सुनार प्रकरणमा जिल्ला अदालतले जारी गर्‍यो यस्तो आदेश

काभ्रेपलाञ्चोक। जिल्ला अदालत काभ्रेपलाञ्चोकले खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।

सुनारमाथि अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपसहित विद्युत् कारोबारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो। सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए।

सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए।

सरकारको तर्फबाट सरकारी वकिल कार्यालयकी सहायक न्याधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेकी थिइन्।

सुनारमाथि अधिवक्ता मनिषा गौतमविरुद्ध फेसबुकमा अपशब्द प्रयोग गरी लाइभ बसेर गालीगलौज गरेको आरोप छ। गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले साइबर ब्यूरोले मुद्दा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाएको थियो।

सुनार फरार रहेकाले प्रहरीले उनलाई फरार राखेर गत साउन २ गते मुद्दा अदालतमा पेश गरेको थियो। पछि साउन ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो।

पछिल्लो मन्त्रिपरिषद् विस्तारमा सुनारको नाम सिफारिस भएको भए पनि अन्तिम समयमा मुद्दाका कारण सूचीबाट हटाइएको थियो।

प्रकाशित मिति : २०८२ कार्तिक १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस