
काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसक्दा पराजित हुन पुग्यो ।
नेपालका लागि सन्दीपको ५ विकेटसँगै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन बनाए । गुल्शन झाले आजपनि ८ बलमा १६ रनको क्यामिओ पारी खेले । कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । डानियल लुइसले पनि ३ विकेट लिए । मुहम्मद असिमले १ विकेट लिए ।
नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराएको थियो । यता पहिलो खेलमा ओमानसँग हार बेहोरेको कतारले भने सुपर सिक्समा २ अंक जोडेको छ ।