२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

तिहारको सरसफाइमा नसोचेको खजाना भेटिएपछि परिवारमा खु:शीको लहर

काठमाडौं । भारतमा एक परिवारले तिहारको सफाइ गर्ने क्रममा आफ्नै घरभित्र लुकेको ठूलो धनराशी फेला पारेका छन्।

सामाजिक सञ्जाल रेडिटमा गरिएको पोष्ट अनुसार, ती व्यक्तिको आमाले तिहार नजिकिँदै गर्दा घर सफा गर्ने क्रममा पुरानो DTH बक्स (डिस टिभी हेर्न प्रयोग हुने बक्स) भित्र २ लाख रुपैयाँ बराबरका २००० भारतीय रुपैयाँका नोटहरू भेट्टाइन्।

पोस्ट गर्ने व्यक्तिले लेखेका छन्, “तिहारको सफाइमा आमाले पुरानो DTH बक्सभित्र २ लाख रुपैयाँको नोट फेला पार्नुभयो। सम्भवतः मेरा बुबाले नोटबन्दीको समयमा त्यहाँ लुकाएर बिर्सिनुभएको रहेछ।”

उनीहरूले अहिले सम्म बुबालाई यसबारे केही बताएका छैनन्।

यो रमाइलो घटनाले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। धेरैले हास्यपूर्वक प्रतिक्रिया दिँदै भनेका छन् — “भगवानले मलाई पनि त्यति पैसा दिनुहोस्, जुन म लुकाएर बिर्सन्छु।”

यता, अन्य प्रयोगकर्ताहरूले ती नोटहरू अझै पनि साट्न सकिने बताएका छन्। भारतीय रिजर्भ बैंक (RBI) का अनुसार, २००० रुपैयाँका नोटहरू प्रचलनबाट हटाइए पनि अझै आरबीआईका कार्यालयहरूमा साट्न सकिने छन्।

२०२३ मा आरबीआईले यी नोटहरू प्रचलनबाट हटाउने निर्णय गरेपछि अहिले ९८ प्रतिशतभन्दा बढी नोटहरू फिर्ता भइसकेका छन्।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस