२०८३ असोज २६ गते सोमवार | 2026 October 12th Monday

आयोगमा पुग्यो खगेन्द्र सुनारको नयाँ दल दर्ता निवेदन ! के हो पार्टीको नाम र चुनाव चिन्ह ?

काठमाडौँ । अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल ‘हाम्रो पार्टी नेपाल’ दर्ताको लागि निवेदन निर्वाचन आयोगमा पेस गरेका छन्। आयोगमा पुगेको निवेदनमा सुनार पार्टीका सभापति रहेका छन्।

सुनार नेतृत्वको यस दलले चुनाव चिह्नका रूपमा गोलो घेराभित्रको लाइक (👍) चिन्ह प्रस्ताव गरेको छ। निर्वाचन आयोगका अनुसार दल दर्ताको निवेदन हाल अध्ययन र प्रारम्भिक मूल्यांकनको चरणमा छ।

दल दर्ताका लागि आयोगले केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रतिवद्धतापत्र, समर्थकहरूको विवरण, विधान, नियमावली र घोषणापत्र जस्ता कागजात अनिवार्य रूपमा माग्ने गरेको छ। साथै, कम्तीमा ५०० समर्थक नागरिकको नागरिकता प्रमाणपत्र र स्वघोषणा सहितको प्रतिवद्धता पत्र आवश्यक हुन्छ।

यी ५०० समर्थक कुन जिल्लाका हुन् भन्ने विवरणसमेत खुलाइएको हुन्छ। त्यसपछि आयोगका सम्बन्धित जिल्ला कार्यालयहरूमा पुगेर ती व्यक्तिहरूले सनाखत प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।

निर्वाचन आयोगका अनुसार, प्रत्येक जिल्लाबाट सनाखत प्रक्रिया पूरा भएपछि र अन्य कागजात पुगेको खण्डमा मात्रै दल दर्ताको प्रक्रिया अघि बढ्नेछ। आयोगले सबै दलले कात्तिक ३० गतेभित्र दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने बताएको छ।

हाल ‘हाम्रो पार्टी नेपाल’को सनाखत प्रक्रिया चलिरहेको र दर्ता तयारी अन्तिम चरणमा रहेको पार्टीका कार्यकर्ता रामबहादुर मिजारले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस